काठमाडौँ – भारतीय क्रिकेट टोलीका अलराउण्डर रवीन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । भारतले शनिबार दोस्रो पटक आईसीसी टी–२० विश्वकप जितेसँगै ३५ वर्षीय जडेजाले सामाजिक सञ्जालमा पोस्ट गर्दै सन्यास लिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


जडेजाले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिए पनि अन्य फर्म्याटमा भने आफू खेलिरहने बताएका छन् । ‘कृतज्ञताले भरिएको हृदयका साथ टी–२० अन्तर्राष्ट्रिय खेलबाट विदा लिँदैछु । गर्वका साथ दौडिने दृढ घोडाजस्तै मैँले आफ्नो देशका लागि सँधै आफ्नो सर्वश्रेष्ठ योगदान दिएको छु । आगामी दिनमा अन्य फर्म्याटमा पनि दिनेछु ।’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘टी–२० विश्वकप जित्नु मेरो करियरका लागि सपना पूरा भएको सरह हो । सम्झना, उत्साह र अटुट समर्थनका लागि धन्यवाद ।’


ADVERTISEMENT

# # #


सन् २००९ मा श्रीलंकाविरुद्धको खेलमार्फत भारतका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका जडेजाले ७४ वटा टी–२० खेल खेलेका छन् । सोक्रममा उनले ५१५ रन बनाएका छन् भने ५४ विकेट लिएका छन् ।

यसपटक विश्वकप जितेसँगै सन्यास लिने उनी तेस्रो भारतीय खेलाडी बनेका छन् । यसअघि फाइनल खेल सकिएलगत्तै कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए ।

शनिबार बर्बाडसमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि चुमेको हो । यसअघि भारतले पहिलो पटक सन् २००७ मा उस फर्म्याटको उपाधि जितेको थियो ।

 

View this post on Instagram

 

A post shared by Ravindrasinh jadeja (@royalnavghan)