काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरु प्रतिगमनकारी भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एकथरी मान्छेहरु नेपालमा केही छैन, सवै पार्टी र नेता सबै खत्तम छन् भन्ने भाष्य सिर्जना गर्न खोजेको भन्दै निराशा र अतिवादी प्रतिगमनकारी प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका हुन् । उनले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्नका लागि सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्नका लागि केन्द्रित हुन आह्वान गरे ।

नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नका लागि पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । त्यस्तै उनले नेकपा एसको प्रतिवेदनमा आफूलाई अस्थिर भनेर उल्लेख गरेको भन्दै उनले आफू गतिशील भएको दाबी गरे ।