इटहरी, सुनसरी – कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने उद्देश्यसहित नेपाली कांग्रेसका युवा नेता, कोशी प्रदेश सदस्य तथा महासमिति सदस्य सिजन गुरुङ ले तरहराको पुरानो चौकीमा ‘बराह एग्रो फ्रेस हाउस’ सञ्चालनमा ल्याएका छन्।
बराह एग्रो कृषि फर्मको पहिलो आधिकारिक आउटलेटका रूपमा सञ्चालनमा आएको फ्रेस हाउसमार्फत फर्ममै उत्पादन गरिएका बङ्गुर, माछा तथा अन्य कृषि एवं पशुजन्य उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा उपलब्ध गराइने भएको छ। स्थानीय किसानको उत्पादनलाई बिचौलियाविना सिधै बजारसम्म पुर्याउने र उपभोक्तालाई ताजा, स्वस्थ तथा गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्यका साथ यो अवधारणा अघि सारिएको गुरुङले बताए।
गुरुङका अनुसार नेपालको आर्थिक समृद्धिको आधार कृषि नै भएकाले युवाहरूलाई विदेश पलायन होइन, उत्पादनमुखी कृषि उद्यमतर्फ आकर्षित गर्न आवश्यक छ। देशलाई आत्मनिर्भर बनाउने सबैभन्दा बलियो माध्यम कृषि हो। कृषि व्यवसायमा युवाको सहभागिता बढे मात्रै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आयात प्रतिस्थापन सम्भव हुन्छ, उनले बताए।
उनले अहिले कृषकले उत्पादन गरे पनि उचित मूल्य नपाउने, उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र बीचमा बिचौलियाले अत्यधिक लाभ लिने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए। ‘कृषकको पसिना र उपभोक्ताको अधिकारबीच रहेको बिचौलिया प्रणाली हटाउन सके किसानले उत्पादनको उचित मूल्य पाउँछन् र उपभोक्ताले पनि गुणस्तरीय वस्तु सहज मूल्यमा प्राप्त गर्छन्,’ उनले भने।
गुरुङले राज्यले कृषि क्षेत्रमा उत्पादन बढाउने नीतिसँगै बजार व्यवस्थापन, उचित मूल्य निर्धारण र उत्पादनको सुनिश्चित खरिद प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याए। किसानले उत्पादन बेच्न बजारको खोजी गर्दै भौतारिनुपर्ने अवस्था अन्त्य गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने उनको भनाइ छ।
मानिसको जीवनको आधार नै कृषि हो। त्यसैले कृषि क्षेत्रलाई सम्मानित, आकर्षक र दीगो पेशाका रूपमा विकास गर्न राज्यले किसानमैत्री नीति, आधुनिक प्रविधि, सहुलियत ऋण, बीमा, बजारीकरण र मूल्य सुनिश्चितताको व्यवस्था गर्नुपर्छ, उनले बताए।
विगत लामो समयदेखि कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिजम क्षेत्रमा सक्रिय गुरुङले स्थानीय स्रोत, साधन र सम्भावनाको उपयोग गर्दै उत्पादनमुखी उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै आएका छन्। उनले सञ्चालन गरेका विभिन्न परियोजनाबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै किसानको आयआर्जनमा समेत उल्लेखनीय योगदान पुगेको छ।
उनले एग्रो टुरिजमलाई पनि कृषि विकाससँग जोड्दै ग्रामीण जीवनशैली, स्थानीय उत्पादन र कृषि संस्कृतिलाई पर्यटनसँग संयोजन गरेर गाउँको अर्थतन्त्रलाई थप सुदृढ बनाउने अभियान सञ्चालन गरिरहेको बताए।
गुरुङका अनुसार ‘बराह एग्रो फ्रेस हाउस’ केवल व्यापारिक केन्द्र मात्र नभई किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अभियान हो। यसले स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाउनुका साथै कृषिप्रति युवाको आकर्षण बढाएर देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।



























































