काठमाडौँ – प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।
बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कुनैपनि मन्त्री उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो ।
बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरेका थिए । संविधान अनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरु उपस्थिति हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने उहाले बताए ।
त्यसलगतै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली अनुसार बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको र बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएकाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमलाई हटाउदै शुक्रबार ११ बजे बस्नेगरी बैठक स्थगित गरे ।
बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै गर्दा मन्त्रिहरु भने सिंहदरबारमा मन्त्रीपरिषद्को बैठकमा सहभागी थिए ।



























































