काठमाडौँ– नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्री माग गरेको छ ।
आज बसेको इतर पक्षको बैठकले परम्परागत रूपमा चल्दै आइरहेको ६०/४० को हिस्सा हुनुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।
उनले भने, ‘हामीले परम्परागत रूपमा राख्दै आएको माग राखेका छौं । छलफलमा यो समूह ऊ समूहभन्दा पनि उपयुक्त व्यक्ति चयन गर्नुपर्छ भनेका छौं । शेखरजीले ५ मन्त्रालय चाहिन्छ भन्नुभएको रहेछ । तर, हामीले कम्तीमा चार चाहिन्छ भन्ने निष्कर्ष निकालेका छौं ।’
उनका अनुसार बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी लगायत सहभागी थिए ।



























































