काठमाडौँ – एमाले अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै मन्त्रिपरिषद्लाई समेत पूर्णता दिएका छन् । ओलीले २ जना उपप्रधानमन्त्रीसहित १९ जना मन्त्री बनाएका हुन् । मन्त्रीमा नियुक्त भएकाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।
पहिलो दिन नै मन्त्रिपरिषद्ले करिब पूर्णता पाउँदा सरकारमा दलितका प्रतिनिधित्व भने शून्य देखिएको छ । संविधान अनुसार समावेशीता अभ्यास गरिरहँदा मन्त्रिपरिषद्मा कुनै पनि दलित समुदायका सांसदले अवसर नपाएका हुन् । यस्तै १९ जनामध्ये २ जना मात्रै महिलाहरु मन्त्री बनेका छन् । काँग्रेसबाट परराष्ट्रमन्त्रीमा आरजु राणा देउवा तथा एमलेबाट विद्या भट्टराई मन्त्री बनेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंह र नेकपा एमालेका विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित क्रमशः सहरी विकास र अर्थमन्त्रालयको जिम्मेवारी पदएका छन् । यस्तै काँग्रेसबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी मन्त्री बनेका छन् । यस्तै काँग्रेसकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शपथ लिएका छन् ।
यता एमालेबाट सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका हुन्। यस्तै रक्षामन्त्री मानवीर राई, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता,
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरत्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, जनता समाजवादी पार्टीे नेपालबाट प्रदीप यादव खानेपानी मन्त्रीमा तथा नवलकिशोर साह सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् ।



























































