काठमाडौं- भारत सरकारको करिब ३ करोड रुपैयाँ आर्थिक सहयोगमा झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
शिलान्यास कार्यक्रममा कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा तथा काठमाडौंस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
भारतीय सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण गरिनेछ। करिब ३ करोड रुपैयाँ लागतको यो परियोजना शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।
कार्यक्रममा नगरप्रमुख थोप्रासहित स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि सुरक्षित, सुविधासम्पन्न तथा गुणस्तरीय सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
भारतीय राजदूतावासका अनुसार नेपाल र भारतबीचको दीर्घकालीन विकास सहकार्यअन्तर्गत यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा, स्वास्थ्य तथा अन्य प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासलाई निरन्तरता दिइँदै आएको छ। यस्ता परियोजनाले नेपालको विकास र समृद्धिको यात्रामा भारत सरकारको निरन्तर सहयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।



























































