काठमाडौँ – एसीसी महिला एशिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । मंगलबार नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले हराएको हो ।
सरे भिलेज मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११२ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलङ्का डेभलपमेन्ट १९.५ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमै अलआउट भएको हो ।
श्रीलंकका लागि एल बालासुरियाले ३६ बलमा ३८ रन बनाइन् । यस्तै आर नेथरञ्जलीले २० बलमा २६ रन जोडिन् । बलिङतर्फ नेपालका लागि कविता जोशीले ३ र कृतिका मरासिनीले २ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ रन र बिन्दु रावलले ३१ बलमा २० रन बनाइन् । बलिङतर्फ श्रीलंकाका लागि डी थिनाकानेले २ र आर सेवाब्दीले १ विकेट लिइन् । यसअघिका दुबै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।
८ टोलीले सहभागिता जनाउने टी–२० फर्म्याटको महिला एशिया कप १९ जुलाईदेखि सुरु हुँदैछ । जहाँ नेपाल समूह ‘ए’मा रहेको छ । नेपालसँगै भारत, पाकिस्तान र युएईसमेत रहेका छन् ।
यस्तै समूह ‘बी’मा आयोजक श्रीलंकासहित बंगलादेश, थाइल्याण्ड र मलेसिया रहेका छन् । गत फेब्रुअरीमा मलेसियामा भएको एसीसी महिला प्रिमियर कपमा सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै एशिया कपमा पुग्न असफल भए पनि एसीसीले प्रतियोगितामा थप २ टोली समालेश गर्ने निर्णय गरेसँगै नेपालले मौका पाएको हो ।
एशिया कपमा नेपालले पहिलो खेल युएईसँग १९ जुलाई (साउन ४ गते) खेल्नेछ । यस्तै दोस्रो खेल २१ जुलाई मा (साउन ६ गते) पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल जुलाई २३ (साउन ८ गते) भारतविरुद्ध खेल्नेछ ।



























































