काठमाडौँ – महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ ।
उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः काम सुरु गरेको हो । यसअघि काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे काटेको थियो । त्यसपछि सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएका थिए ।




























































