काठमाडौँ – श्रीलंकामा आजदेखि सुरु भएको एसिसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई ११६ रनको चुनौती दिएको छ ।
शुक्रबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर पहिले ब्याटङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो । युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा २ चौका प्रहार गरिन् । यस्तै कविसा एगोडागेले २२ तथा समिरा धरनिधर्काले १३ तथा कप्तान इशा ओजाले १० रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा १९ रन मात्रै खर्चिइन् । यस्तै सबनम राई र कृतिका मरासिनीले समान १–१ विकेट लिए । नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
एशिया कपमा इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।
८ टोली सहभागी एशिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा युएईसहित पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।



























































