काठमाडौँ – श्रीलंकामा आजदेखि सुरु भएको एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमै नेपालले ऐतिहासिक जित हात पारेको छ । शुक्रबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले हराउँदै नेपालले इतिहास रचेको हो ।
नेपालले महिला एशिया कपमा पहिलो जित हात पारेको हो । यसअघि २ संस्करण खेलेको नेपालले कुनै पनि जित हात पार्न सकेको थिएन । शुक्रबार श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।
नेपालको ऐतिहासिक जितका लागि नेपाली ओनिङ ब्याटर सम्झना खड्काले शानदार ब्याटिङ गरिन् । उनले ४५ बलमा ११ चौकाको मदतमा नटआउट ७२ रन हानेपछि नेपालले इतिहास रचेको हो । यस्तै रुबिना क्षेत्रीले १० तथा सीता राना मगरले ७ र पूजा महतोले नटआउट ३ रन जोडिन् । यस्तै कप्तान इन्दु बर्माले ६ रनमा आउट भइन् ।
बलिङतर्फ युएईका कविसा एगोडागेले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडेन राख्दै १२ रन मात्रै खर्चिइन् । यस्तै लभयाना केनीले १ विकेट हात पारिन् ।
यसअघि युएईका लागि खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा २ चौका प्रहार गरिन् । यस्तै कविसा एगोडागेले २२ तथा समिरा धरनिधर्काले १३ तथा कप्तान इशा ओजाले १० रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् । उनले ४ ओभरमा १९ रन मात्रै खर्चिइन् । यस्तै सबनम राई र कृतिका मरासिनीले समान १–१ विकेट लिए ।
८ टोली सहभागी एशिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा युएईसहित पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् । एशिया कपमा नेपालले अब दोस्रो खेल आइतबार पाकिस्तानसँग खेल्नेछ ।



























































