काठमाडौँ – नेपाली काँग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री उम्मेदवारमा बहादुर लामालाई सर्वसम्मत चयन गरेको छ । सत्तारुढ गठबन्धनबीच सत्ता साझेदार गर्ने सहमति अनुसार काँग्रेसले एकताको सन्देश दिँदै नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामालाई अघि सार्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिने तयारी गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदैछ । गठबन्धनको सहमति अनुसार नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ । काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा लामालाई अघि सार्ने गरी आइतबार संसदीय दलको बैठकले निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


आगामी मुख्यमन्त्रीमा काँग्रेसले नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियालाई अघि सार्ने चर्चा चुलिरहेका बेला बानियाँले नै आइतबारको बैठकमा लामाप्रति सहमति जनाएका हुन् । काँग्रेसको विगतको सहमति र सहकार्यको अभ्यासलाई निरन्तरता दिँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अझ मजबुत बनाउन लामालाई अघि सारेका हुन् ।

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका सचिव कृष्ण तामाङका अनुसार आजको बैठकमा अप्ठ्यारो परिस्थितिमा पार्टीभित्र सहमतिको सन्देश दिनका लागि संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्रीको उम्मेनवारमा आफूलाई अघि सार्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई प्रदेश सभापति बानियाँले सहर्ष स्वीकार गर्दै सर्वसम्मतिका साथ अघि बढाएको तामाङले हिमालय पोष्टलाई बताए ।

उनले भने, ‘राजनीतिक सहमतिमा आएको नेतृत्वलाई अब काँग्रेसले सहमति र सर्वसम्मतिका साथ अघि बढाउने र जनताको इच्छा, आकांक्षालाई पूरा गर्ने बाटोमा अघि बढेको छ ।’ बागमतीमा काँग्रेस र नेकपा एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।