काठमाडौं-भारतको उत्तरी राज्य उत्तर प्रदेशका १० लाख विद्यार्थीले बोर्ड परीक्षा नदिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका छन् ।


ADVERTISEMENT


परीक्षादेखि विद्यार्थी नडराउन् भनेर योगीले परीक्षा प्रणालीलाई सजिलो बनाउने भएका हुन् । परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा भएको कटौतीको कारण परीक्षादेखि विद्यार्थीको डर र सरकारले चिट चोर्ने प्रणालीलाई अन्त्य गर्ने उद्देश्यसहित ल्याएको कडा सुपरिवेक्षण प्रणाली रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उत्तर प्रदेश सरकारले यस वर्ष चिट रहित परीक्षा सञ्चालन गर्ने उद्देश्यसहित कडा कदम चालेपछि परीक्षामा विद्यार्थीको सहभागिता सुरुको दिनदेखि नै घट्दै गएको छ । योगी आदित्यनाथको नेतृत्वमा रहेको सरकारले परीक्षालाई मर्यादित बनाउने उद्देश्यसहित परीक्षा केन्द्रमा सिसिटिभी क्यामेरा राख्नेसहित विभिन्न कदम चालेपछि परीक्षामा सामेल हुने विद्यार्थीको संख्यामा पछिल्ला चार दिनदेखि व्यापाक मात्रामा कटौती भएको छ । उत्तर प्रदेशमा गत मंगलबारबाट कक्षा १० र कक्षा १२ को बोर्ड परीक्षा सुरु भएको थियो ।

‘चिट रहित परीक्षा सञ्चालन गरौं भनेर हामीले जब भन्यौं १० लाख विद्यार्थीले परीक्षा दिएनन् । यो हालसम्मको अवस्था हो । भविष्यमा के हुन्छ मलाई थाहा छैन,’ मुख्यमन्त्री आदित्यनाथले बताए । ४५ वर्षे मुख्यमन्त्री आदित्यनाथले भारतका प्रधानमन्त्री नरेन्द्र मोेदीले विद्यालय जाने विद्यार्थीलक्षित गरेर परीक्षालाई लिएर हुने तनावलाई कम गर्न लेखेको विशेष पुस्तक ‘एक्जाम वारियर्स’को हिन्दी संस्करण लागू गर्न खोज्दै छन् ।

‘विद्यार्थीका माझ परीक्षाको त्रास उत्पन्न गराइएको छ,’ आदित्यनाथले बताए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको पुस्तकले विद्यार्थीलाई परीक्षा दिन दिमागमा साहस भर्ने छ,’ उनले बताए । ‘परीक्षालाई थप सरलीकृत कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ,’ गत मार्चमा भारतीय जनता पार्टीले उत्तर प्रदेशको राज्य सभाको निर्वाचनमा बहुमतसहित जित हासिल गरेपछि मुख्यमन्त्री बनेका आदित्यनाथले बताए ।

यस वर्ष उत्तर प्रदेशको बोर्ड परीक्षामा सामेल हुनका लागि ६६ लाख ३७ हजार १८ विद्यार्थी नाम दर्ता गराएका छन् । जसमा ३६ लाख ५५ हजार ६ सय ९१ विद्यार्थीले कक्षा १० र २९ लाख ८१ हजार तीन सय २७ विद्यार्थीले कक्षा १२ को परीक्षा दिइरहेका छन् । सरकारले यस वर्षदेखि बोर्ड परीक्षामा हुने दुराचारलाई निस्तेज पार्न थप व्यवस्था लागू गरेपछि परीक्षा दिने विद्यार्थीको संख्यामा कमी आएको हो । सुरुका दिनदेखि आइतबार चौथौं दिनको परीक्षासम्म आइपुग्दा १० लाख विद्यार्थीले परीक्षा दिएका छैनन् ।

यस वर्षको बोर्ड परीक्षामा राज्य सरकारले परीक्षा हलमा सिसिटिभी क्यामेरा राखेको छ र विशेष टास्क फोर्सको प्रयोग गरेको छ । त्यसैगरी शैक्षिक माफियाका गतिविधि निरीक्षण गर्न स्थानीय अनुसन्धान ब्युरोका कर्मचारी पनि प्रयोग गरेको छ भने परीक्षा केन्द्रको सय मिटर वरपर निषेधाज्ञा जारी गरेको छ ।