काठमाडौं-प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलले प्राप्त गरेको सिट संख्यामा सदस्य छनोट गरी सुची बुझाउन निर्वाचन आयोगले दलहरुलाई दिएको समयसीमा आज सकिदैछ ।


ADVERTISEMENT


आयोगले समानुपातिकको कुल १ सय १० सिट, दलहरुले प्राप्त गरेको मतका आधारमा बाँडफाँट गरी क्लस्टर मिलाएर सूची पठाउन तीनदिनको समयसीमा सहित शुक्रबार दलहरुलाई पत्राचार गरेको थियो । सो समयसीमा आज साँझ ५ बजे सकिने आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


आयोगमा एमालेले आफ्नो भागमा परेका ४१ जनाको सूची हिजै बुझाएपनि कंग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले सूची बुझाउन बाँकी छ । समानुपातिक तर्फ कंग्रेसले ४०, माओवादी केन्द्रले १७, फोरम र राजपाले समान ६–६ सिट प्राप्त गरेका छन् ।

दलहरुबाट प्राप्त हुने सूची अध्ययन गरी नमिलेको भए सच्याउन पुनः दलहरुले २ दिनको समय पाउनेछन् । त्यसपछि मात्र आयोगले प्रतिनिधि सभा अन्तर्गतको अन्तिम परिणाम सार्वजनिक गर्नेछ । संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रिय सभाको निर्वाचनको परिणामपश्चात मात्र आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको प्रक्रिया अघि बढाएको हो ।

प्रतिनिधिभाको प्रत्यक्ष र राष्ट्रिय सभामा पनि महिला सदस्यको संख्या न्युन भएकाले ३३ प्रतिशत पुर्‍याउन समानुपातिकतर्फ अधिकांश महिला सदस्य छान्नुपर्नेछ । समानुपातिकको अन्तिम परिणाम पछि आयोगले प्रत्यक्ष र समानुपातिक दुबै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने छ ।

प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिले बुझेलगत्तै नयाँ सरकार गठनको आह्वानका लागी राष्ट्रपतिलाई बाटो खुल्नेछ ।