काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ ।


ADVERTISEMENT


अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७।५ किलोमिटर रहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । उनले खानेपानी तथा सरसफाइ जनताको मौलिक अधिकारका रुपमा संविधानमा रहेको चर्चा गर्दै यसलाई पूरा गर्न लिमिटेडले ध्यान दिनुपर्नेमा जोड दिए ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुर रज्जाकले उपत्यकावासीका घरमा खानेपानीको धारा छ, पानी छैन यस्तो अवस्थालाई अन्त्य गर्न मेलम्ची खानेपानी आयोजना पूरा गर्न सबैको ध्यान जानुर्नेमा जोड दिए ।

सो अवसरमा लिमिटेडमा कार्यरत उत्कृष्ट मिटर रिडर अमृतमणि दाहाल, मदन महर्जन र सन्तोष ओझालाई सम्मान गरिएको थियो । लिमिटेडका महाप्रबन्धक डा।महेश भट्टराईले लिमिटेडको व्यवस्थापकीय क्षमता अभिवृद्धिमा ध्यान दिइएको जानकारी दिए ।