काठमाडौँ – शशिला मोटर्स प्रालिले भेन्चेब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।
क्याटलको १ सय २३ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ । यसको लम्बाई २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा संचालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले वताए ।
१२३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी छ । उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्जट सेवा दिने पनि बताए ।
दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । विगत दश बर्षदेखि व्यावसायिक गाडीहरु विक्री वितरण गर्दै आएको शशिला मोटर्स पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेको थियो ।
अब शशिला मोटर्स नेपालको लागि भेन्चे ब्रान्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ । भेन्चे स्प्रिन्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।



























































