काठमाडौँ – संसदीय सुनुवाई समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरुविरुद्ध उजुरी दिने उजुरीकर्तासंग छलफल गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पाँच जना उजुरीकर्तासंग छलफल गरेको हो । उजुरीकर्तासंगको छलफलपछि अव भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
प्रस्तावित राजदूतहरुबिरुद्ध ९ वटा उजुरी परेकोमा उजुरीकर्ता उज्जलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुईकेल र अर्का एक जनाले आफ्नो उजुरीको औचित्य पुष्टि गरेको उनले बताए ।
राजदूतको सुनुवाई सकिएपछि २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने समितिले जनाएको छ । सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।



























































