काठमाडौं-प्रदेश नं. १, २ र ५ मा आज मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । प्रदेश १ मा आजप्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्य मन्त्री पदमा नियुक्त गर्ने तयारी भएको छ ।


ADVERTISEMENT


आज मुख्यमन्त्री नियुक्ति भए भोलि शपथग्रहण गराइने प्रदेश कार्यालय स्रोतले जनाएको छ । यस्तै सभामुखमा एमालेका प्रदीप भण्डारीलाई चयन गरेपछि स्थगित भएको प्रदेश नम्बर १ को सभा भोलि मात्रै बस्ने भएको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख चयनका लागि निर्वाचन समेत हुनेछ ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यमन्त्री नियुक्त गर्न लागेका हुन् । सो प्रदेशमा आजै बस्ने प्रदेशसभा बैठकले राजपाका सरोजकुमार यादवलाई औपचारिक रुपमा सभामुख घोषणा गर्दैछ । प्रदेश सभा बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेश नम्बर ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । त्यसअघि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले औपचारिक रुपमा सभामुख चयन गर्नेछ । त्यहाँ माओवादीका पूर्णवहादुर घर्ती सभामुख बन्ने निश्चित छ । मुख्यमन्त्रीको सपथ भने भोली दिउसो ३ बजेका लागि तय भएको छ ।

पहिला चरणमा पोखरेलसँगै एमालेबाट बैजनाथ चौधरी र माओवादीबाट संसदीय दलका नेता कुलप्रसाद केसी सहितको ३ सदस्यीय मन्त्रीमण्डल बन्ने एमाले सचेतक भुमिश्वर ढकालले जानकारी दिएका छन् ।

यसैबीच प्रदेश ४ मा आजै सभामुखको लागि उम्मेदवारी दर्ता गरिँदैछ । उम्मेदवारी दर्ताको समय बिहान साढे १० बजेबाट साढे १२ बजेसम्मका लागितय गरिएको छ । प्रदेश ७ मा बाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रका त्रिलोचन भट्टलाई बनाउन आग्रह गर्दै प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गर्दैछ ।