काठमाडौँ – नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा सम्बन्धी फेसबुक स्टाटस डिलिट गरिदिएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आक्रोश व्यक्त गरेका छन् । मंगलबार एक स्टाटस पोस्ट गर्दै बालेनले उक्त चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’
मेयर बालेनले आइतबार एमालेकी प्रदेशसभा सदस्य शर्माले विगत ८ वर्षदेखि बन्दी बनाएर एक बालिकालाई घरेलू कामदारका रुपमा प्रयोग गरेको र कुटपिट गर्ने गरेको बताएका थिए ।
महानगरले शर्मामाथि मुद्दा चलाउन आग्रह गरेको र अदालतले समेत मुद्दा चलाउन आदेश दिँदा पनि सरकार मूकदर्शक भएको उनको भनाई थियो । प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले थपेका थिए, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नै समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाऊ भन्छ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यपछि गोहीको आँशु चुहाएर समवेदना दिँदै एक लाख रुपैयाँ घोषणा गर्नु नै होला ।’
बालेनको उक्त स्टाटस भाइरल भएको थियो भने एमाले कार्यकर्ता चिडिएका थिए । निरन्तर रिपोर्ट गरेका कारण उक्त बालेनको उक्त पोष्ट फेसबुकले हटाइदिएको उनको सचिवालयले जनाएको थियो । सामाजिक सञ्जाल एक्समा भने उक्त पोष्ट यथावत छ ।
— Balen Shah (@ShahBalen) September 1, 2024



























































