काठमाडौँ – नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका घुइँचो लागेको छ । पशुपति क्षेत्र आज बिहानैदेखि श्रद्धालुले भरिएको छ ।


ADVERTISEMENT


यस वर्ष पनि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको दर्शनका लागि विशेष व्यवस्था मिलाएको छ । जस अनुसार दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोलिएको छ ।


ADVERTISEMENT

# # #


मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले जानकारी दिए ।

यस्तै तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

कोषले मेलामा चोरी र लुटपाटको हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरेको छ । नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता अधिकारीको भनाई छ ।

यसैगरी भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको कोषले बताएको छ । कोषले जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायतका स्थानहरु छुट्याइएको पनि जानकारी दिएको छ ।