काठमाडौँ — नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
पहाडी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन् । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी उक्त जिम्मेवारीमा थिइन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै पालामा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेकोमा नयाँ सञ्चारमन्त्री गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा पठाएका थिए । महिलालाई प्राथमिकता दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडीलाई टेलिकमको नेतृत्व सुम्पिएका हुन् ।
नेपाल टेलिकममा ताररहित सञ्जाल विज्ञका रूपमा कार्यरत पहाडीसँग झन्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव छ । उनी वि.सं. २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गरेकी थिइन् । २०७८ माघ १८ मा उनी नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।
पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् । कार्यवाहकसमेत चलाइसकेकीले छोटो अवधि रहे पनि उनको नेतृत्वले टेलिकमले गति लिने विश्वास कर्मचारीहरूको छ ।