काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले दुई तिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चूप लागेर नवस्ने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानले दुई दल मिलेर बनाइएको सरकारले जनताको पक्षमा काम गरेर नयाँ दलको आवश्यकता र औचित्यलाई गलत सावित गर्न सुझाव दिदै दुई तिहाईको बलमा नयाँ दललाई मानमर्दन गर्न खोजे चूप लागेर नवस्ने चेतावनी दिएका हुन् ।
सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको भन्दै उहाले सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर नबस्ने र ढिलो–चाँडो सवैलाई रास्वपाले ठेगान लगाउने बताए। लामिछानले रास्वपाको हस्तक्षेप कसैलाई आक्षेप लगाउन नभई नागरिकको अवस्था परिवर्तनका लागि भएको धारणा राखे ।
उनले रास्वपालाई विभिन्न कोणबाट लडाउने प्रयत्न भइरहेको भन्दै चूनावबाहेक अरु कहिबाट रास्वपालाई लडाउन र हराउन नसक्ने जिकिर गरे ।
सभापति लामिछानले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन नदिएका कारण समितिले दिएको निस्कर्षमा कतिपयलाई चित्त नबुझेको बताए । सहकारीको पैसा ल्याउन आफ्नो भूमिका नरहेको विषयलाई कतिपयलाई स्वीकार्य गाह्रो भएको उनले जनाए ।
दुई दिनसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी छन् । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिने रास्वपाले जनाएको छ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला बुधबार सकिने बताइएको छ ।



























































