काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकामा अधिकांश नदीमा बाढी आएको छ । वर्षाका कारण बागमती, बिष्णुमती, धोविखोला, गोदावरी लगायतका खोलानदीमा बाढी आएको छ ।
बाढीका कारण टेकु दोभन छेउछाउका बस्ती डुबानमा परेको छ । अबको तीन दिन देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरका उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ ।


























































