काठमाडौं-विवाह लगनको अघिल्लो दिनबाट बेपत्ता भनिएका दुलाह भारतको विभिन्न सहरमा घुम्दै गरेको अवस्थामा भेटिएको छ । गत माघ २२ गतेका दिन विवाह गर्ने निधो भएका गैंडाकोटका बालकृष्ण खरेल बिहेको अघिल्लो राति १२ बजेदेखि घरबाट बेपत्ता भएका थिए ।


ADVERTISEMENT


घर नजिकैकी युवतीसँग विहेको टुंगो लागेका खरेल जन्ती हिड्नुभन्दा १२ घण्टाअघिबाट बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि सिंगो गाउँ नै दुलाह खोज्ने तनावमा थियो । मोबाइल अफ गरिएको र घरीघरी फेसबुक चलेको आधारमा उनको खोजी भइरहेको थियो ।


ADVERTISEMENT

# # #


फेसबुक चलेको आधारमा प्रहरीले उनको लोकेसन भारतको दिल्ली र हैदरावाद आसपास देखेको थियो । बेहुलाको अपहरण भएको आशंकामा प्रहरी प्रधान कार्यालयको (सीआईबी) केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली बेहुलाका दुलाह खोज्न दिल्ली पुगेको थियो ।

दिल्लीबाट गोरखपुरमा उनको लोकेसन देखिएपछि पछ्याउँदै गएको टोलीले दुलाह गोरखपुरको रेल्वे स्टेसननजिक सुन्दर गेस्ट हाउसमा माघ २४ गतेदेखि २८ गतेसम्म बसेको प्रमाण भेटिएको छ । होटलमा उनले दिएको परिचयपत्र र सीसीटीभीमा देखिएको फुटेजका आधारमा उनी त्यो होटलमा एक्लै बसेको देखिन्छ । प्रहरीले उनी बसेको होटल पत्ता लगाउनुभन्दा १२ घण्टा अगावै होटल छोडेर हिँडेको भेटेको हो । उनले होटलमा काम गर्नेहरुसँग आफूले विवाह छोडेर हिँडेको र अब दिल्लीतिर घुम्न जाने बताउने गरेका थिए । ती सबै प्रमाणका आधारमा उनी अपहरणमा नपरेको र आफैं हिँडेको पुष्टि भएको भन्दै नखोज्ने निधो गरेको छ ।

अपहरणमा परेको आशंकाका आधारमा प्रहरीले दुलाहका माइला दाइ गुरुप्रसाद खरेललाई सँगै लिएर भाइको खोजीमा हिँडेको थियो । उनी बेपत्ता भएपछि तनावमा रहेका घरपरिवार र केटीतर्फका आफन्तले उनलाई कसैले अपहरण गरेको हुन सक्ने भन्दै प्रशासन घेराउ र प्रहरीलाई खोजी गरिदिन दबाब दिँदै आएका थिए ।

दुलाह र दुलहीपक्षका घरमा विवाहको सबै तयारी पूरा भएको थियो । दुलही पक्षकाले बिहेको अघिल्लो दिन नै ११ लाख मूल्यको दाइजो केटाको घरमा लगेर सजाईदिएका थिए । दुवैतर्फ परपाहुना आउने बधाई दिनेक्रम बाक्लिँदै थियो । बिहान विस्तरामा बेहुला नदेखेपछि कतै निस्केको लख काटेकाहरु दिनभरि बेहुला नआएपछि छट्पटिएका थिए ।

त्यसपछि उनको खोजीमा सिंगो गाउनै लागेको थियो । कसैले हत्या गरेको होकि भन्ने आंशकामा दुवै पक्षकाले जंगल-जंगल चाहारेका थिए ।