काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बारे सोच्न नसकिने बताए ।
विहिवार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संसोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए । उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उल्लेख गरे ।
जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उनले बताए । कोइरालाले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको धारणा राखे । उनले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशिल रहेको जिकिर गरे ।
उनले आफुलाई पाटीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको र यसबारे पार्र्टीसर्भापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए । प्रदेश सरकार विस्तार बारे आफुसंग छलफल नगरिएको उनको गुनासो थियो ।


























































