काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट पारेका छन् ।
सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई सफल हुन नदिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिए । देशको निर्माण र रक्षा सुविधाले मात्रै नभई आत्मबलले हुने उहाले बताउनुभयो । सशस्त्र प्रहरी बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना समेत दिए ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए ।आज ४५ जना दीक्षित भएका हुन् ।


























































