काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । मंगलबार भएको खेलपूर्वको पत्रकार सम्मेलनमा बोल्दै कप्तान एन्जिलाले घरेलू मैदानको फाइदा उठाउँदै उपाधि जित्न भरपूर प्रयास गर्ने बताइन् ।
नेपालले साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार काठमाडौँको दशरथ रंगशालामा बंगलादेशविरुद्ध खेल्दैछ । त्यसका लागि नेपाली टोली पूर्ण रुपमा तयार भएको कप्तान एन्जिलाले बताइन् ।
‘फाइनल खेलका लागि हामी तयार छौँ । प्रायजसो हामी फाइनलमा हारिरहेका हुन्छौँ तर यसपटक हामी घरेलू मैदानमा उपाधि जित्छौँ’ उनले भनिन्, ‘म आफैप्रति पनि विश्वास छ र टिमप्रति पनि विश्वास छ ।’
सेमिफाइनलमा भारतसँगको तनावपूर्ण खेलको अन्तिम ३५ मिनेटमा टिम एकताका साथ खेलेको स्मरण गर्दै उनले बंगलादेशसँग पनि सोही अनुसार खेल्ने बताइन् । बंगलादेश बलियो प्रतिद्वन्द्वी भए पनि प्रशिक्षकको रणानीति अनुसार टोली मैदानमा उत्रिने उनको भनाई छ । घरेलू मैदानमा दर्शकको समेत साथ रहने भएकाले खेल्न हौसला मिल्ने उनले बताइन् ।
यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेशले राम्रो फुटबल खेलिरहेकाले उत्कृष्ट रणनीति बनाएर मैदान उत्रिने बताए । उनले भारतविरुद्ध नेपाली टोली १० खेलाडीमा सीमित भइसक्दा पनि दर्शकको साथका कारण अभाव महसुस नभएको स्मरण गर्दै बंगलादेशविरुद्धको फाइनल खेलमा पनि त्यही अनुसारको सहयोग मिल्ने उनको विश्वास छ ।


























































