विराटनगर – मानव तस्करीको मुद्दामा तानिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी छ ।


ADVERTISEMENT

# # #


काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो । मानव बेचबिखन तथा ओसारपसारका ठुला घटनामा अनुसन्धान गर्न ब्युरो नै बनाइएको भएपनि यो प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई अघि सारिएको हो ।

मिलेमतोमा नक्कली कागजात बनाएर केही व्यक्तिलाई जापान पठाएको घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गर्न काठमाडौं ल्याइँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले बताए ।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ। अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

तर त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।

डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए।

जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन्। उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन्।

पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्।

डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो। जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ। यसबाट अधिकारी मुख्यकर्ता रहेको शंका उत्पन्न भएको छ ।