मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन हुनसक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्दै संविधान संशोधन हुनुपर्ने बताए ।
उनले प्रमुख प्रतिपक्षीसहित अन्य विपक्षी दललाई साथमा लिएर संविधान संशोधन गरिने बताए । उनले संविधान संशोधनका निम्ति केन्द्रदेखि स्थानीय तहसम्मका सबै दलसँग सहकार्य गरिने स्पष्ट गरे ।
२०८४ को निर्वाचन अघि संविधान संसोधनको काम सम्पन्न गरिने उनले जनाए । संविधान संसोधनका लागि अन्य दलहरु संग चाडै नै छलफल गरिने उनको भनाइ छ ।
यस्तै, उनले म्याजिक नम्बर भन्दै साना दलले शासन गर्ने प्रवृति रोक्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । संविधान संसोधन र आर्थिक सुधारलाई मुख्य एजेण्डा बनाएर एमाले र कांग्रेसले सरकार बनाएको उनको जिकिर छ ।
पोखरेलले राष्ट्र निर्माणको उद्देश्यका साथ एमाले र कांग्रेसबीच सहकार्य भएको तथा सरकारका काम प्रभावकारी ढङ्गले सम्पादन गर्न द्विदलीय संयन्त्र गठन भएको जानकारी दिए ।


























































