काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सहकारीहरूको पैसा प्रयोग गरेर टेलिभिजन सञ्चालक बनेपछि विवादमा तानिए। सहकारीहरूको रकम अनियन्त्रित खर्च गर्दा, टेलिभिजन सञ्चालक बनेर उनी आफैँलाई दोषबाट पन्छाउन खोजेको आरोप पनि छ।


ADVERTISEMENT


जब सहकारीहरू र टेलिभिजन संकटमा परे, उनले जिम्मेवारी लिने सट्टा आफ्ना समर्थकहरूलाई आक्रामक शैलीमा नारा–जुलुसमा उत्रिन लगाए। यसरी कानुनी प्रक्रिया र संविधानलाई चुनौती दिने क्रियाकलापले देशमा अस्थिरता र अराजकता फैलाउने खतरा थपेको छ।


ADVERTISEMENT

# # #


सहकारीहरूजस्ता वित्तीय संस्थाहरूमा नागरिकहरूको विश्वास र पूँजी जोडिएको हुन्छ। नेतृत्वमा रहेका व्यक्तिहरूले त्यसको सम्मान गर्दै जनताको पूँजी सुरक्षित राख्न कर्तव्यबोध गर्नुपर्छ। कानून र संविधानको पालना गर्नुभन्दा अराजकता फैलाउनु नेतृत्वको गुण होइन। सहकारीहरूको रकम हानी(नोक्सान भएमा त्यसको उत्तरदायित्व लिनु नेता रबि लामिछानेको कर्तव्य हो। अस्थिरता फैलाउन, कानुन प्रभावित गर्न र गैरजिम्मेवार नेतृत्व प्रस्तुत गर्नुले जनताको हितलाई संकटमा पार्छ।

सच्चा नेतृत्व पारदर्शिता र न्यायमा आधारित हुनु पर्छ। जसरी कुनै पनि संस्थाको सफलतामा नेतृत्वको भूमिका हुन्छ, त्यस्तै समस्यामा नेतृत्वले नै उत्तरदायित्व लिनुपर्छ। न्यायप्रति आस्था राख्ने र गल्तीको सुधार गर्ने प्रयास गर्नु नै नेतृत्वको वास्तविक गहना हो। कानुनी प्रक्रियालाई प्रभावित पार्न, हुल्लड मच्चाउन वा अस्थिरता फैलाउन लगाउनु भनेको असल नेतृत्वको गुण होइन।

हुल्लड र आक्रामकतामा रमाउनेको पछाडि लाग्नुभन्दा, विवेक र बुद्धिमत्तासँगै सामाजिक परिवर्तनमा लाग्नुहोस्। आन्दोलनको उद्देश्य जनताको भलाई र लोकतान्त्रिक मूल्यहरूको संरक्षण हो। अरुको दोषमा रमाउने र अराजकता मच्चाउने कामले राष्ट्रलाई नोक्सान पुर्याउँछ। नेतृत्वको सत्य मूल्य भनेको इमानदारी र उत्तरदायित्वमा हुन्छ, जसले समाजलाई सकारात्मक मार्गमा अगाडि बढाउँछ।

प्रजातान्त्रिक देशमा कानुन र संविधानको पालना सबै नागरिकको कर्तव्य हो। पुराना पार्टीका नेताहरू, जस्तै खुम बहादुर खड्का, बालकृष्ण खांड, कृष्ण बहादुर महरा र टोप बहादुरजस्ता नेताहरू जेल परेका बेला कुनै पनि पार्टीले अदालतलाई प्रभावित पार्ने वा अराजकता मच्चाउने काम गरेनन्। बरु न्यायप्रतिको आस्थामा बलियो बने। नयाँ विचार, नयाँ पुस्ता, र युवा नेतृत्वले पनि न्याय र संविधानको सम्मान गर्दै आफूलाई परिपक्व बनाउनु जरुरी छ।

सच्चा नेता आफ्नो कमजोरी सुधार्न, अरूबाट प्रेरणा लिन र प्रतिस्पर्धामा स्वस्थ भावना राख्न केन्द्रित हुन्छन्। अराजकता मच्चाउने हुल्लड शैलीले नेतृत्वको दीर्घकालीन प्रतिष्ठा बढाउँदैन। समाजमा स्थायित्व र शान्ति ल्याउन कानुनको सम्मान गर्दै अघि बढ्नु आजको नेतृत्वले गर्ने सबैभन्दा ठूलो योगदान हो।

अन्त्यमा, सच्चा नेतृत्वको मूल्य इमानदारी र उत्तरदायित्वमा हुन्छ, न कि हुल्लड र अराजक शैलीमा।