काठमाडौँ– पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको सरकारका पूवक्ता पृथ्वीसुब्बा गुरुले बताए । यस्तै आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको उनले जनाए ।
ढुङ्गानाको आइतबार काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । श्रद्धाञ्जलीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु सरिक हुने बताइएको छ ।
सासानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जानकारी दिए । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारले निर्णय गरेको छ ।



























































