काठमाडौँ– सिस्नेरी पहिरोमा ज्यान गुमाउनेका परिवारले एन्फा कम्प्लेस अगाडि धर्ना दिएका छन् । ६ जना बालकहरूको ज्यान गएको उक्त घटनाबारे सरकारले छानबिन समिति बनाउनुपर्ने उनीहरूको मुख्य माग छ ।


ADVERTISEMENT


आफुहरुको माग राहतको नभई बत्सलादेवी माविको कमजोरी भएकाले कारवाही हुनुपर्ने उनीहरुको माग छ । आफ्नो बच्चाहरुसंग सम्पर्क गर्दा रातभर त्रसित अवस्थामा रहेको सुनाएको र यसको जानकारी गराउदा पनि कुनै सुनुवाई नभएको उनीहरुको आरोप छ । यसर्थ सरकारले घटनामाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनुपर्ने भन्दै उनीहरुले धर्ना दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले यसअघि उनीहरुले राजनीतिक दल र सरकारका प्रतिनिधिहरुलाई भेटेर ज्ञापन पत्र समेत दिएका थिए । तर, हालसम्म पनि सुनवाइ नभएको भन्दै उनीहरुले आज एन्फा कम्प्लेक्समा धर्ना दिएका हुन् । धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका छन् ।

एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।

एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थिति वत्सला माविमा ४० जना बालकहरूलाई फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखेको थियो । यही असोज १२ गते देशभर बाढी पहिरो आउँदा कुलेखानीको बाँध फुट्न सक्नेभन्दै त्यहाँबाट केही बालकहरू सुरक्षित स्थानतर्फ भागेका थिए । तर, बाटोमा उनीहरूलाई पहिरोले पुरेको थियो ।

पहिरोमा परी हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीले ज्यान गुमाएका थिए ।