काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको समीकरणले पुरै समय काम गर्ने स्पष्ट पार्दैै कसैले चाहेर हल्लाउन नसक्ने जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको धारणा राखे । प्रधानमन्त्री ओलीले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने बताए ।

प्रधानमन्त्री ओली
काठमाडौँ, ७ मङ्सिरः प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार एमाले उपत्यकाका तीन जिल्ला कमिटीले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पुरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे । अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताए । देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने बताए । आफैँ सरकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने प्रवृत्ति सह्य नहुने उनको भनाइ छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताए । उनले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताए । ओलीले देश बनाउने अभियानमा लाग्न र पार्टीभित्र कुनै गुटबन्दी नगरि अघि बढ्न एमालेका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।