काठमाडौँ – पूर्वधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री एवम् कुटनीतिक विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा अल्झिन नहुने सुझाव पदएका छन् ।


ADVERTISEMENT


आफ्नो आसन्न चीन भ्रमणका विषयमा सोमबार सिंहदरबारमा बोलाइएको छलफलमा उनीहरुले जुन देशले पहिले भ्रमणको निम्तो दियो, त्यहीँ जानु उपयुक्त हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


छलफलका क्रममा सहभागीहरुले मुलुकको हित विपरित कुनै पनि सम्झौता नगर्न सुझाव दिएका थिए । छलफलपछि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पहिलो कुन देशको भ्रमण गर्ने भन्ने विषयमा अल्झन नहुने सुझाव दिए । उनले बीआरआईलाई नेपालको हितका लागि अघि बढाउन सुझाव दिएको जानकारी दिए ।

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको प्रधानमन्त्रीले कुनै देशको भ्रमण गर्दा कुनै एउटा देशबाट सुरु गर्नुपर्छ भन्ने पराम्परागत सोचलाई हटाउनुपर्ने बताए । उनले कुनै पनि देशको प्रधानमन्त्रीले देशको हितका लागि जुनसुकै देशबाट पनि भ्रमण सुरु गर्नसक्ने धारणा राखेको जानकारी दिए । बिआरआइ परियोजना नेपालका लागि फाइदाजनक भएकाले यसलाई अघि बढाउन सुझाव दिएको उनले बताए ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको हित र स्वार्थका कुरालाई राम्रोसंग राख्न सके नेपाली जनताको समर्थन हुने सुझाव दिएको बताए । बीआरआई लगायतका परियोजना मुलुकको हितका आधारमात्र अघि बढाउने समेत सुझाव दिएको उनको भनाइ छ ।

छलफलका क्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

सहभागीहरुका प्रश्न र जिज्ञाशाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गरेका छन् । उनले आसन्न चीन भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा कोही पनि लाग्न नहुने उनले बताए ।

उनले पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्ने समेत बताए । उनले चीन भ्रमणमा विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए ।

त्यस्तै परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिम रुप दिने जानकारी गराएकी थिइन् ।