काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनले भने, ‘मन्त्रीपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई मनोनित गरेको छ। श्रेष्ठ ११ आवेदकमध्ये सिफारिस समितिको अन्तिम तीन जनाको सुचिमा अटाउदैँ धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुन सफल भएका हुन्।
समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमा उनीसंगै मुक्ति श्रेष्ठ र डा नबराज अधिकारी थिए । धितोपत्र बजारकम पहिचान बनाएका श्रेषठको नियुक्तीसंगै उनीसम्बन्धित सबैको चासो पनि बढेको छ ।
कम उमेरका बलिया आवेदक
अध्यक्ष पदका लागि आवेदन दिने ११ जनामध्ये श्रेष्ठ सबैभन्दा कम उमेरका आवेदक थिए । विंसं २०३३ मा स्याङ्जामा जन्मिएर काठमाडौँ र बुटवलमा हुर्केका उनले यी शहरहरुमै आफ्नो अध्ययन हासिल गरे ।
काठमाडौँ विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका उनीसंग स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव छ । यस्तै, उनले तत्कालिन नेपाल एक्सप्रेस फाइनान्समा (कैलाश विकास बैंक हुँदै हाल प्राइममा मर्ज भएको) १० दश वर्ष अध्यक्षको पदभार सम्हालेको थिए । यी दुवै संस्थामा श्रेष्ठ संस्थापक अध्यक्ष हुन् ।
पदीय हिसाबले मात्र नभई संस्थाको संस्थापक तथा लगानीकर्ताको हिसाबले पनि श्रेष्ठले लघुवित्त तथा फाइनान्स कम्पनी र विकास बैंक हुँदै बैंक सञ्चालनको अनुभव प्राप्त गरेको देखिन्छ ।
त्यतिमात्र नभई श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा तीन वर्ष सञ्चालक समिति सदस्यको रुपमा काम गरेको अनुभव पनि छ । उनले वित्तीय क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्राधिकरणमा सञ्चालक समितिको जिम्मेवारी निर्वाह गरेका हुन् ।
लगानीकर्ताको हिसाबले बैंक वित्तीय संस्थाको नेतृत्वमा रहेको मात्रै नभई श्रेष्ठसँग सोप एण्ड केमिकल, हाइड्रोपावर तथा कलेजहरुमा प्रत्यक्ष जिम्मेवारी निभाएर काम गरेको अनुभव रहेको छ । हाल श्रेष्ठ तथा उनको परिवारको लगानीमा तीन भन्दा बढी हाइड्रोपावर रहेका छन् ।
त्यस्तै आवद्दताका हिसाबले पनि श्रेष्ठ म्यानेजमेन्ट एसोसियसन नेपाल (म्यान)को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य रहेका छन्।
यी सबै उनको ब्याकग्राउण्डलाई नियाल्दा उनी कम उमेरका भएपनि एक कुशल अनुभवीका हिसाबले पनि उत्तिकै प्रतिस्पर्धी र बलिया पात्र हुन् भन्ने कुनै शंका देखिदैँन । यसैकारण पनि उनी अध्यक्ष पदका लागि सिफारिस भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।



























































