काठमाडौँ– अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।


ADVERTISEMENT


सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।


ADVERTISEMENT

# # #


नेपालमा पनि समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरि दिवस मनाएका हुन् ।

दिवसका अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग महासंघ लगाएत बिभिन्न संघसंस्थाले काठमाडौंको रत्नपार्कबाट भृकुटिमण्डपसम्म प्रभातफेरीको आयोजना गरेको थियो ।

प्रभातफेरीपछि आयोजित मूल समारोहमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालको संविधान तथा कानुन सम्बन्धी कानुनमा अपाङ्गता भएका व्यक्तिहरूलाई कुनै पनि भेदभाव नगर्ने अधिकार सुनिश्चित गरेको भन्दै यसका कार्यान्वयनमा सरकारको जोड रहेको बताए ।

उनले हालसम्म प्राप्त भएका उपलव्धीहरुको संरक्षण गरि थप उपलव्धी प्राप्त गर्ने दिशामा अपाङ्गता भएका व्यक्तिहरु, यस क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्था सवैको सहयोगको अपेक्षा गरे ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि सरकारले केहि गर्न चाहेको भन्दै देशका सबै स्थानमा अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयापनका लागि काम गर्ने उनले बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।

नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ ।