काठमाडौँ– माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। मङ्सिर १७ गते  बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।


ADVERTISEMENT


जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ।


ADVERTISEMENT

# # #


कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले पुस २८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यससंगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले लगातार दोस्रो वर्ष १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट पनि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो । माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ। कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रबर्दन गरेको ६५ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्ने भएको हो।