काठमाडौँ – युएईमा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटमा नेपालले जितसहित यात्रा टुंग्याएको छ । मंगलबार आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो ।


ADVERTISEMENT


युएईको सारजहा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान यू–१९ ले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालका जितका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । ५४ बल खेलेका उनल ३ चौका प्रहार गरे । यस्तै अर्जुन कुमालले २१ रन जोड्दा कप्तान हेमन्त धामीले ३३ बलमा २ चौकाको मदतमा नटआउट २२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका अल्लाह घजांफर र खतिर खान स्टानिक्जाईले समान ३–३ विकेट लिए । यस्तै अब्दुल अजिज खान र महबुब खानले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ अफगानिस्तानका फैजल खानले सर्वाधिक ५२ रन हाने । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै खतिर खान स्टानिक्जाईले १५ तथा बक्रात इब्राहिमजाईल १२ रनको योगदान दिए ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा युनिस विक्रम ठकुरी र सन्तोष यादवले समान ३–३ विकेट लिए भने कप्तान हेमन्त धामी र अभिषेक तिवारीले समान २–२ विकेट हात पारे ।

नेपालले एक वर्षभित्रै टेस्ट राष्ट्र अफगानिस्तानलाई २ पटक हराउन सफल भएको हो । यसअघि नेपालले गत फेब्रुअरीमा भएको यू–१९ विश्वकपमा पनि अफगानिस्तानलाई १ विकेटले नै हराएको थियो ।

८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले हारेपछि समूह चरणबाटै बाहिरिएको थियो । अफगानिस्तानले भने ३ वटै खेल हारेको छ ।