काठमाडौँ– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शहर र समुदायहरुको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी कार्य चूनौतीपूर्ण रहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाली वास्तुविद् समाजको आयोजनामा बिहीबारबाट काठमाडौंमा सुरु आर्कबिल्ड एक्सपो उद्घाटन गर्दै सिंहले जलवायु परिवर्तनजन्य एवं अन्य विपद्का घटनाहरुमा बढोत्तरी भई विकास प्रयासलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू बढेर गएको भन्दै शहर र समुदायहको दिगो भविष्य सुनिश्चित गर्ने समाधानका उपायहरुको खोजी कार्य चूनौतिपूर्ण रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अहिलेको निर्माण पद्धतिहरूमा मौलिकताको पक्ष ओझेल पर्दै गएको अवस्थामा आधुनिक विकास निर्माणलाई नेपालीपन सहितको दिगो बनाउन सहि दिशानिर्देश गर्नुपर्ने आवश्यकता रहेको उनले जनाए ।

उनले नेपालमा शहरीकरणलाई व्यवस्थापन गर्ने क्रममा शहरमा रोजगारी, सेवा पूर्वाधारको बृद्धि गर्न अहिले भएका प्रयासहरू प्रयाप्त नरहेको उल्लेख गरे । उनले नेपाली वास्तुविद्हरूको भूमिकालाई थप प्रभाबकारी बनाउन गरिनुपर्ने नीतिगत र संस्थागत सुधारका लागि शहरी विकास मन्त्रालय तत्पर रहेको धारणा राखे ।

त्यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको मौलिक निर्माण पद्धतिको संरक्षण गर्न नसकेको बताए । पछिल्लो चरणमा आधुनिक आर्किटेक्चरको बिकास हुदै गएपनि त्यसले लय समात्न नसकेको महशुस भएको उनको भनाई । उनले संघीयतापछि तीनै तहको सरकार बनेपनि व्यवस्थीत ढंगले शहर र बस्ती निर्माण गर्न नसकेको धारणा राखे ।

काठमाडौको भृकुटीमण्डपमा सुरु आर्कबिल्ड एक्सपो तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।