काठमाडौँ– उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुशासनका साथै सभ्य समाज निर्माण गर्न भ्रष्टाचारलाई निर्मुल पार्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सिंहले सुशासन र सभ्य समाज निर्माण गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रविधि विकाससंगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको अवस्थामा यसका विरुद्ध राज्य थप सक्रिय हुन जरुरी रहेको धारणा राखे । भ्रष्टाचार एउटा संगठित अपराध भएकाले प्रजातान्त्रीक संस्थाहरुलाई पनि कमजोर पार्ने उनको भनाइ छ । सिंहले भ्रष्टाचारले निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउने भएकाले थप सक्रियता जरुरी रहेकामा जोड दिए ।

त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगमा दर्ता भएका उजुरी संख्या बढ्दै जानुले यसको नियन्त्रण गर्ने संस्थाहरु कमजोर हुदै गएको हो की भन्ने आभाष भएको बताए । भ्रष्टाचार नियन्त्रण र सदाचार कायम गर्ने कार्यका लागि राज्यका तीनवटै अंगहरु र तीनै तहहरुले आफ्ना कानूनले तोकेका जिम्मेवारीहरु प्रभावकारी रुपमा निर्वाह गर्न जरुरी रहेको उनको धारणा छ ।

भोलिका सदाचार निर्माणःयुवाहरुसंग भ्रष्टाचार बिरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।