झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन्।
दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आएका प्रधानमन्त्री ओलीले दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउन एकताबद्धको खाँचो रहेको बताए ।
मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गरे।
“हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु”, उनले भने ।