काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालयमा मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको दिर्घकालीन बिकासमा सहयोग पुग्ने गरि सम्झौता र सहमति भएको भन्दै चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनए । बिआरआईका बिषयमा भएका समझदारी निकै महत्वपूर्ण भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्ने बैठकको निष्कर्ष रहेको ज्ञवालीले बताए ।
त्यस्तै सचिवालय बैठकले स्थानीय तहमा भएको उपनिर्वाचनको समीक्षा गर्दै समग्रतामा थप उपलब्धी हासिल गरेको निष्कर्ष समेत निकालेको उनले जानकारी दिए । काठमाडौं– १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै ज्ञवालीले शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए । बैठकले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेको छ ।
त्यस्तै सचिवालय बैठकले सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै गलत सूचनाको माध्यमबाट राजनीतिक दल, नेता र प्रधानमन्त्रीविरुद्ध भ्रम फैलाउने प्रवृति उचित नभएको भन्दै गलत कुराको खण्डन र सहि विचारको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।
त्यस्तै ज्ञवालीले बिआरआाई आफैमा परियोजना नभएको र यस अन्तर्गत विभिन्न परियोजना सञ्चालन हुने भएकाले बिआरआईअवधारणामा नै ऋण वा अनुदानको विषय जोड्नु गलत भएको बताए । उनले माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो पटक दिएका अभिव्यक्तिहरु गैरजिम्मेवार रहेको बताए ।
रवि लामिछानेका विषयमा प्रचण्डले गरेका टिप्पणीहरु अनुसन्धानलाई नै प्रभावित पार्ने प्रकारको रहेको उनले बताए । ज्ञवालीले राजावादीहरुसंग प्रचण्डले हात मिलाउन खोज्नु राजनीतिक विचालन भएको टिप्पणी गरे ।




























































