काठमाडौँ – जनकपुर बोल्ट्स काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुगेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९.३ ओभरमा सबै विकेट गुमाएर १०२ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाउँदै जित हात पारेको हो ।
जनपुरको जितका लागि जेम्स निश्शमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा १ चौका र ३ छक्का ठोके । यस्तै अर्ष थाकर २५ रनमा नटआउट रहे ।यस्तै लाहिरु मिलान्थाले १६ रन बनाउँदा मोहम्मद मोसिनले नटआउट १३ रन जोडे । कप्तान अनिल साह ११ रनमा आउट भए ।
बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले २ विकेट लिए भने जेरहार्ड इरास्मस, साहब आलम र दीपेश कँडेलले समान १–१ विकेट हात पारे ।
यसअघि काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । सो क्रममा उनले दुई चौकासमेत प्रहार गरे । कप्तान करण केसीले १९ र स्टिफन एस्किनाजी १७ रन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
काठमाडौँको लागि शाहब आलम र माइकल लेविटले समान ८–८, रासिद खानले ७, प्रतिक श्रेष्ठले ६, भीम सार्कीले ४ र डेन डउथवेटले १ रन बनाए । यो खेलमा काठमाडौँले अतिरिक्त ११ रन पाएको छ ।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले सर्वाधिक समान ३–३ विकेट लिए । यस्तै, मोहम्मद मोहसिनले दुई, अर्निको यादव र किशोर महतोले १–१ विकेट हात पारे ।
जनकपुरले ६ मध्ये ६ खेल जित्दै १० अंकका साथ प्लेअफको स्थान पक्का गरेको हो ।
एनपिएल अन्तर्गत शुक्रबार हुने पहिलो खेल लुम्विनी लायन्स् र कणार्ली याक्स तथा दोश्रो खेल विराटनगर किंग्स् र चितवन राइनोज्बीच हुने क्यानले जनाएको छ ।