काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन् ।
नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने समेत बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच इतिहासदेखि नै अशल मित्रता रही आएको भन्दै यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउने र आपसी सिकाइलाई प्रसारित गर्ने धारणा राखे ।
सम्मेनलका माध्यमबाट नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्ने उनको विश्वास छ । नेपालमा बौद्ध अध्ययनका लागि समर्पित ज्ञानको एक प्रकाशस्तम्भ, लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमी बीचको सहयोगात्मक संलग्नताले साझेदारी र साझा आकांक्षाको भावनालाई उदाहरण दिएको प्रधानमन्त्री ओलीले जनाए ।
उनले चीनमा नेपाली शैलीका बौद्ध मन्दिरहरूका वास्तुशिल्प चमत्कारहरू र लुम्बिनीमा झोङ हुआ चिनियाँ बौद्ध मठको भव्यताले दिगो सम्बन्धको लागि शाश्वत स्मारकहरूको रूपमा खडा रहेको पनि बताए ।