काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटन पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धरासायी हुन नदिने बताएका हुन् ।
सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनले बताए । उनले घरजग्गा कारोवारमा देखिएको शिथिलताको प्रभाव अरु क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे ।
जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफु सकारात्मक रहेको भन्दै उनले यस बिषयमा छलफलमा आउन व्यवसायीहरुलाई आग्रह गरे ।
उनले अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने जानकारी दिए ।






























































