काठमाडौँ ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौंको क्याम्पस र होस्टेल भवनहरू हस्तान्तरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय दूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा क्याम्पस व्यवस्थापन समितिलाई भवन औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
भारत सरकारको अनुदान स्वरुप २ करोड ९२ लाख ४० हजार रुपैयाँको लागतमा दुई तल्ले कक्षा कोठा ब्लक, दुई तल्ले छात्रावास ब्लक र अन्य सम्बद्ध सुविधाहरू सहितका भवन निर्माण गरिएको हो । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को रूपमा लिइएको थियो र जिल्ला समन्वय समिति, काठमाडौं मार्फत कार्यान्वयन गरिएको थियो।
निर्माण गरिएको यो सेटअप काठमाडौँको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक नर्सिङ शिक्षा सुविधा प्रदान गर्न उपयोगी हुनेछ । सिकाइको लागि सुधारिएको वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा प्रमुख, जिल्ला समन्वय समिति, काठमाडौं, उपमेयर, शङ्खरापुर नगरपालिका, राजनीतिक प्रतिनिधिहरू र सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका अध्यक्षले नेपालका जनताको उत्थानमा भारत सरकारको निरन्तर विकास सहयोगको कदर गरे।
सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस सन् २००० मा स्थापना भएको थियो। यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त संस्था हो । क्याम्पसले नर्सिङमा तीन वर्षे प्रवीणता प्रमाणपत्र स्तरको पाठ्यक्रम प्रदान गर्दै आएको छ र प्रत्येक वर्ष १२० प्रशिक्षित नर्सहरू उत्पादन गर्दै आएको छ ।