काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले महशुल बक्यौता उठाउनकै लागि विद्युत लाइन काट्ने कुरा उचित नभएको बताएका छन् ।


ADVERTISEMENT


बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुधबारबाट बुटवलमा सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले विद्युतमा ट्रङ्क लाइन र डेडिकेटेड लाइनमा भएको विवाद सरकारले समाधान गर्ने भन्दै महशुल बक्यौता उठाउनकै लागि विद्युत लाइने काट्ने कुरा उचित नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


१० वर्षदेखि थाती रहेको विषयलाई अहिले आएर उचालिएको उनले बताए । उनले व्यवसायीहरुले पनि आफ्नो प्रयोग गरेको विद्युत महसुस इमान्दिरताका साथ तिर्नुपर्ने जिकिर गरे । विद्युत प्राधिकरणका समस्या र कमी कमजोरी समेत छानविन गर्नका लागि मन्त्रालयले छानविन समिति गठन गरेको उनले बताए ।

मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्ष भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको बताए ।

मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा पुसको १८ गतेसम्म मेला आयोजना हुने आयोजकले जनाएको छ । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल राखिएका छन् ।

मेलाको ५ लाख बढीले अवलोकन गर्ने र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघले जनाएको छ ।