विराटनगर– प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयले गरेको निर्णय अनुसार, विशेष व्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर भएका महानिरीक्षकअधिकारीले कोशी प्रदेश प्रहरी प्रमुखबाट पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् ।
उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भिम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका प्रहरी प्रमुख सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरे ।
सो क्रममा उनलनई प्रहरीको एक टुकडिले सलामी अर्पण गरेको थियो भने उनले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा विधिवतरूपमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदभार ग्रहण पश्चात् कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको वर्तमान शान्तिसुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको विद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नविनतम तथा रचनात्मक कार्यका बारेमा अवगत गराए । उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई अधिकारीले आवश्यक निर्देशन समेत दिए ।
‘शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु बिश्राम नलिई निरन्तररूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र अथकरूपमा कर्तव्यको बलीबेदीमा आफूलाई समर्पण गर्नु पर्ने हुन्छ’, उनले भने ।
समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडिग रहनु भन्दै उनले सुरक्षानै समाजको मेरूदण्ड हो अनि प्रहरी सुरक्षाको मेरुदण्ड रहेको बताए ।
‘तसर्थ मुटु अनवरत धड्के जसरी आ-आफ्नो पदीय दायित्व अनुसार त्रृटीरहित तवरबाट कार्य सम्पादन गर्न र आईपर्ने चुनौतीहरूलाई जित्न एक निर्भिक, ईमानदार र वफादार राष्ट्र सेवकरूपमा खटिनपर्छ, उनले भने ।
सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्नु पर्ने आवश्यकता रहेको उनको भनाई छ ।
प्रदेश प्रहरी प्रमुखको हैसियतले कुशल अभिभावकको जिम्मेवारी निर्वाह गर्ने विश्वास दिलाउदै उनले प्रहरी संगठनको छविलाई सदैव उच्च राख्न ‘अपराधीलाई डर र निर्दोषलाई भर’ को पहिचान बनाई व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा अहोरात्र खटिन प्रहरी कर्मचारीहरूलाई समेत निर्देशन दिए ।।





































































