काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री भट्टराइले सवै पूर्वाधार निर्माण गरेर सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ उक्त विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी हुन् ।
सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई सवलीकरण गर्न सोहि क्षेत्रबाट नै जनशक्ति उत्पादन गर्न सरकार तयार भएको उनले जनाइन् । उक्त विश्वविद्यालयको ५५ वटा साना ठूला भौतिक पूर्वाधारमध्ये ५० वटा संरचना निर्माण सम्पन्न भइसकेको ५ वटा सम्पन्न हुन लागेको उनको भनाई छ । मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐनअनुसार विश्वविद्यालय सञ्चालन गरिनमा जोड दिइन् ।
बैठकमा समिति सदस्यहरुले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सहज रुपमा अघि बढाउनका लागि छिटो भन्दा छिटो विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।





























































