नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिष्पर्धा हुदैछ । फाइनल अघि दुवै टोलीका कप्तानले उपाधि आफूले जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् ।
फाइनल खेल अघि शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको ‘प्रि म्याच कन्फ्रेन्स’मा दुवै टिमका कप्तानहरुले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताउँदै फाइनलका लागि तयार रहेको पनि बताएका छन् । जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनल खेलका लागि छुट्टै योजना नबनाएको बताँउदै हरेक खेललाई समान महत्व दिने र आफ्नो क्षमता प्रदर्शनमा केन्द्रित रहने बताए ।
‘हाम्रो बदला लिने रणनीति केही छैन । भोलि हामी आफ्नो गुणस्तरीय खेल खेल्छौँ, हामीसँग जे जति छ दिन्छौँ, परिणामको बारेमा सोचिरहेका छैनौँ ।’ उनले भने, ‘यसअघिका खेलमा भएका कमजोरी सुधार गर्नेछौँ । विश्वास छ, फाइनलमा हाम्रा सबै खेलाडीले राम्रो गर्नेछन् ।’
आसिफले पावर प्लेको सदुपयोग र सुरुवाती ओभरमा आक्रामक खेल प्रदर्शन गर्ने रणनीति लिने उल्लेख गर्दै सुरुवाती ओभरमा बढीभन्दा बढी रन बनाउने र अन्तिम चार ओभरलाई सदुपयोग गर्ने प्रयास हुने बताए ।
त्यस्तै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो टोली मानसिक रूपमा फाइनलका लागि तयार रहेको बताए । उनले भने, ‘फाइनल भए पनि हामी लिग चरणका खेलजस्तै ठानेर खेल्छौँ । आफ्नो शतप्रतिशत दिएर खेल्नेछौँ । जित र हारबारे सोचेका छैनौँ ।’
दीपेन्द्रले फाइनलमा जनकपुर बोल्ट्सलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिएको बताउँदै दुईपटक जनकपुरलाई हराएको कुरालाई उनीहरु कमजोर छन् भन्ने रुपमा नबुझेको उल्लेख गरे । उनले टसपछि विकेटको अवस्था हेरेर ब्याटिङ वा बलिङको निर्णय लिने योजना रहेको बताए ।
सुदूरपश्चिम पहिलो क्वालीफायरमा जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको टिम हो भने जनकपुरले एलिमिनेटरमा जितेर आएको कर्णाली याक्सलाई स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल मध्यान्ह १२ बजेपछि सुरुहुने छ । प्रतियोगिताको उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउँदा उप विजेता हुने टिमले ५१ हजारमा चित्त बुझाउने छ ।
एनपीएलमा तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख पक्का गर्दा चौथो भएको चितवन राइनोजले १५ लाख पाउने भएको छ । एनपीएलमा ८ टिमले सहभागिता जनाएका थिए ।





























































